सिराहा। सिराहाको गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर मृत्यु भएका १५ वर्षीय गणेश यादवको घटनालाई लिएर स्थानीयवासीले प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङविरुद्ध विरोध प्रदर्शन गरेका छन्।
औरही गाउँपालिका–२ तुलसियाही निवासी गणेश यादवको परिवारलाई भेट्न गृहमन्त्री गुरुङ सिराहा आउने तयारी रहेको जानकारीपछि स्थानीयले बनिनिया चोकमा प्रदर्शन गरेका हुन्।
प्रदर्शनकारीहरूले मृतकले न्याय नपाउन्जेल गृहमन्त्रीलाई उक्त क्षेत्रमा प्रवेश गर्न नदिने चेतावनी दिएका छन्। उनीहरूले हातमा विभिन्न प्लेकार्ड बोकेर सरकारविरुद्ध नाराबाजी गर्दै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही तथा पीडित परिवारलाई न्यायको माग गरेका छन्।
प्रदर्शनका क्रममा सुरक्षाकर्मीको गोली लागेर १५ वर्षीय गणेश यादवको मृत्यु भएपछि स्थानीयवासी आक्रोशित बनेका छन्। घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन उनीहरूले सरकारसँग माग गरेका छन्।
तपाईको प्रतिक्रिया