जनार्दन शर्माको पहलमा मधेशवादी दलसहित नयाँ मोर्चा घोषणा हुँदै
काठमाडौं। नेकपा माओवादी केन्द्र छाडेर प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेका जनार्दन शर्माले मधेशवादी दलहरूसँग सहकार्य अघि बढाउने भएका छन्।
आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै शर्माको पहलमा मधेशवादी दलसहितको नयाँ राजनीतिक मोर्चा घोषणा गर्ने तयारी गरिएको हो।
शर्माको सचिवालयका अनुसार आगामी साउन २३ गते काठमाडौंको थापागाउँमा नयाँ मोर्चा घोषणा गरिनेछ। उक्त मोर्चामा डा. सीके राउत नेतृत्वको जनमत पार्टी, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, प्रभु साह नेतृत्वको आम जनता पार्टी, रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, बहुजन एकता पार्टी, संघीय समाजवादी पार्टी नेपाललगायत दल सहभागी हुने बताइएको छ।
जनमत पार्टीका अध्यक्ष सीके राउतले वैकल्पिक शक्तिहरू एक ठाउँमा आउनुपर्ने आवश्यकता देखिएकाले मोर्चा घोषणा गर्न लागिएको बताए।
“अहिलेको अवस्थामा वैकल्पिक शक्तिहरू एक ठाउँमा आउनुपर्ने परिस्थिति बनेपछि यही २३ गते कार्यक्रम गरेर एउटा सन्देशसहित मोर्चा घोषणा गर्ने तयारी गरेका छौँ,” राउतले भने।
यसअघि मधेशको राजनीतिमा सीके राउत, उपेन्द्र यादव र प्रभु साहबीच प्रतिस्पर्धा हुँदै आएको थियो। २०७९ सालको निर्वाचनमा सप्तरी–२ बाट राउतले यादवलाई पराजित गरेका थिए। अब भने यी नेताहरू जनार्दन शर्मासँगै एउटै राजनीतिक मोर्चामा उभिने तयारीमा छन्।
यसअघि पनि मधेशवादी दलहरूबीच गठबन्धन निर्माणको प्रयास हुँदै आएको थियो। आगामी निर्वाचनअघि नयाँ मोर्चा निर्माणको तयारी भए पनि यसको स्वरूप, संरचना र सहकार्यको ढाँचा भने अझै टुंगो लागिसकेको छैन।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले लामो समयदेखिको छलफलपछि मोर्चा घोषणाको तयारी अन्तिम चरणमा पुगेको बताए।
उनका अनुसार साउन २३ गते मोर्चा घोषणा गरिने भए पनि यसको स्वरूप र आगामी रणनीति भने घोषणासभामै सार्वजनिक गरिनेछ। उनले विगतका अनुभवलाई समेट्दै मोर्चालाई बलियो र परिणाममुखी बनाउने प्रयास भइरहेको बताए।
तपाईको प्रतिक्रिया