मंगलबार १९ श्रावण २०८३
राजनीति

सुदन किराँतीले लगाए उपसभामुख ठाकुरमाथि पार्टीको योगदान बिर्सिएको आरोप

सोमबार श्रावण १८, २०८३/ Monday 08-03-26

काठमाडौं। श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किराँतीले उपसभामुख रुवीकुमारी ठाकुरको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टीको योगदान र अनुशासनलाई बेवास्ता गरेको आरोप लगाएका छन्।

पार्टीको एक कार्यक्रममा बोल्दै उनले श्रमदाताको आँसु–पसिनाले निर्वाचित बनेपछि पार्टीको सिद्धान्त र योगदानलाई सम्मान गर्नुपर्ने उल्लेख गर्दै पदमा पुगेपछि पार्टीले सिफारिस गरेका कर्मचारीलाई हटाउने कार्य स्वीकार्य नहुने बताए।

किराँतीले पार्टीकै सहयोगमा मेयर, सांसद, मन्त्री, मुख्यमन्त्री तथा अन्य सार्वजनिक पदमा पुगेका नेताहरूले पार्टीको नीति, विचार र अनुशासनभित्र रहेर काम गर्नुपर्नेमा जोड दिए। पार्टीभित्र स्वेच्छाचारिता सह्य नहुने चेतावनी दिँदै उनले स्पष्ट विधि, पद्धति र संस्थागत प्रणालीअनुसार पार्टी सञ्चालन हुनुपर्ने धारणा राखे।

उनले सानो कामदेखि ठूलो जिम्मेवारीसम्म नियमको पालना आवश्यक हुने उल्लेख गर्दै देश निर्माणको लक्ष्य बोकेको राजनीतिक दल झन् व्यवस्थित र अनुशासित हुनुपर्ने बताए।

किराँतीले पार्टीलाई देशकै प्रमुख राजनीतिक शक्ति बनाउने, अध्यक्ष हर्क साम्पाङलाई प्रधानमन्त्री बनाउने तथा सर्वमान्य नेताका रूपमा स्थापित गर्ने लक्ष्य पूरा गर्न संगठनलाई विधि र प्रणालीमा आधारित बनाउनुपर्ने बताए।

उनले पार्टीका शुभेच्छुक र कार्यकर्ताले व्यक्तिगत धारणा नभई पार्टीको आधिकारिक धारणा मात्रै सार्वजनिक गर्नुपर्ने भन्दै विचार, व्यवहार र संगठनात्मक अनुशासन बलियो बनाए मात्र पार्टीप्रति जनआकर्षण बढ्ने बताए।

 

तपाईको प्रतिक्रिया