मंगलबार २२ बैशाख २०८३
अर्थ

नेप्से परिसूचक ८.७८ अंकले बढ्यो, ३ अर्ब ४३ करोडको कारोबार

मंगलबार बैशाख २२, २०८३/ Tuesday 05-05-26

 

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजारमा सामान्य सुधार देखिएको छ। अघिल्लो दिन सोमबार करिब ३५ अंकले घटेको बजार मंगलबार ८.७८ अंकले उकालो लागेको हो।

यस दिन नेप्से परिसूचक ०.३२ प्रतिशतले बढ्दै २७१२.८६ विन्दुमा पुगेको छ। तर, कारोबार रकम भने सोमबारको तुलनामा घटेको देखिन्छ।

मंगलबार कुल ३ अर्ब ४३ करोड ९० लाख ६८ हजार ३९२ रुपैयाँ बराबरको ७७ लाख ३४ हजार १२ कित्ता सेयर किनबेच भएको छ। यो कारोबार ६२ हजार २५ पटकमा सम्पन्न भएको हो। यसअघि सोमबार भने ४ अर्ब २६ करोड ५३ लाख ९० हजार २०४ रुपैयाँ बराबरको १ करोड ७४ हजार ५२४ कित्ता सेयर कारोबार भएको थियो।

कुल ३३५ कम्पनीमध्ये १६२ कम्पनीको सेयर मूल्य बढेको छ भने ९० कम्पनीको मूल्य घटेको छ। बाँकी १६ कम्पनीको मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।

यस दिन सबैभन्दा बढी नाफा कमाउने कम्पनीहरूमा अप्पर लोहोर खोला हाइड्रोपावर, सोलु हाइड्रोपावर लिमिटेड, धौलागिरी लघुवित्त वित्तीय संस्था, झापा इनर्जी र एनआईसी एसिया ब्यालेन्स्ड फन्ड रहेका छन्।

त्यसैगरी, सबैभन्दा बढी घाटा व्यहोर्ने कम्पनीहरूमा फरवार्ड माइक्रोफाइनान्स, सुपरखुदी हाइड्रोपावर, रावा इनर्जी डेभलपमेन्ट, एनआईसी एसिया ग्रोथ फन्ड–२ र आरबीबी म्युचुअल फण्ड–१ परेका छन्।

तपाईको प्रतिक्रिया