मंगलबार २२ बैशाख २०८३
मनोरन्जन

चलचित्र ‘लालीबजार’ को मुद्दामा सेन्सर बोर्डको फाइल झिकाउन अदालतको आदेश

मंगलबार बैशाख २२, २०८३/ Tuesday 05-05-26

काठमाडौं । उच्च अदालत पाटनले फिल्म ‘लालीबजार’सँग सम्बन्धित मुद्दामा चलचित्र जाँच (सेन्सर) प्रक्रियाका कागजात माग गर्ने आदेश दिएको छ। अदालतका सूचना अधिकारी गोबिन्दप्रसाद कोइरालाका अनुसार, केन्द्रीय चलचित्र जाँच समितिले दिएको प्रदर्शन अनुमतिसम्बन्धी सक्कल फाइल झिकाउन निर्देशन दिइएको हो।

मंगलबार न्यायाधीश गीताप्रसाद तिम्सिना र दीपक खनालको संयुक्त इजलासमा सुनुवाइ भएको थियो। अदालतले यसअघि दिएको अन्तरिम आदेशलाई बुधबारसम्म कायम राख्दै फिल्मको प्रदर्शन रोकेको छ। यस विषयमा थप छलफल बुधबार हुने र आवश्यक कागजात प्राप्त भएपछि पुनः मूल्यांकन गरिने जानकारी दिइएको छ।

यसअघि १५ वैशाखमा अदालतले फिल्मको प्रदर्शन तत्कालका लागि रोक्न आदेश दिएको थियो। वादी रोशनी नेपाली ले फिल्मका केही दृश्य र संवादप्रति आपत्ति जनाउँदै रिट दायर गरेकी थिइन्। निर्देशक यम थापा को निर्देशनमा बनेको यो फिल्म १८ वैशाखदेखि प्रदर्शनमा आउने तयारीमा थियो, तर अदालतको आदेशका कारण रिलिज स्थगित भएको छ।

तपाईको प्रतिक्रिया