बुधबार २३ बैशाख २०८३
समाज

भैरहवाको क्यासिनोमा छापा: जुवा खेल्दै गरेका १९ जना नेपाली पक्राउ

बुधबार बैशाख २३, २०८३/ Wednesday 05-06-26

भैरहवा।  रुपन्देहीको सिद्धार्थनगरस्थित एक क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा १९ जना नेपाली नागरिक पक्राउ परेका छन्।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको संयुक्त टोलीले सिद्धार्थनगर नगरपालिका–१० मा रहेको होटल गौतमबुद्ध इन्टरनेसनलभित्र सञ्चालित रोयल कालिङ्गा क्यासिनोमा गएराति छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार पक्राउ पर्नेमा क्यासिनो व्यवस्थापनमा संलग्न ४ जना र जुवा खेलिरहेका १५ जना रहेका छन्। विशेष सूचनाका आधारमा सञ्चालन गरिएको अपरेसनका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको उनले बताए।

पक्राउ परेकाहरू रुपन्देहीसहित विभिन्न जिल्लाका रहेको प्रहरीले जनाएको छ। घटनास्थलबाट ९५ हजार ५०० रुपैयाँ नगद, १७ थान मोबाइल र ५० थान क्यासिनो क्वाइन बरामद गरिएको छ।

उनीहरूमाथि जुवासम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

तपाईको प्रतिक्रिया