काठमाडौं। वर्षाका कारण बारम्बार अवरुद्ध हुन थालेपछि बीपी राजमार्ग मा यात्रा गर्नुअघि अवस्था बुझ्न सुरक्षा निकायले सर्वसाधारणलाई आग्रह गरेका छन्। जिल्ला सुरक्षा समितिले मंगलबारदेखि राजमार्गमा राति आवागमन बन्द गर्ने निर्णय गरेको हो।
समितिका अनुसार बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ। वर्षासँगै रोशी खोला मा बाढी आउने, पानीको सतह बढ्ने र अस्थायी ‘डाइभर्सन’ बगाउँदा सडक अवरुद्ध हुने जोखिम बढेपछि यस्तो निर्णय गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्ट ले जानकारी दिए।
मौसमी अवस्था सुधार भएलगत्तै आवागमन नियमित गर्नेबारे सूचनामार्फत जानकारी गराइने पनि उनले बताए। काभ्रेको नमोबुद्ध नगरपालिका को चौकीडाँडादेखि सिन्धुलीको नेपालथोक सम्मका विभिन्न स्थानमा अस्थायी डाइभर्सन बग्दा पटक–पटक सडक अवरुद्ध हुँदै आएको छ।
यसअघि चौकीडाँडा, रोशी र नेपालथोक क्षेत्रमा करिब १८ किलोमिटर सडक बगाएपछि खोलामै डाइभर्सन बनाएर सवारी सञ्चालन गरिएको थियो। हाल उक्त क्षेत्रमा स्थायी सडक निर्माण भइरहेको डिभिजन सडक कार्यालय भक्तपुर ले जनाएको छ।
तपाईको प्रतिक्रिया