काठमाडौँ । संवैधानिक नियुक्ति सम्बन्धी महत्वपूर्ण छलफलका लागि प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले संवैधानिक परिषद्को बैठक बोलाएका छन्। बैठक बिहीबार साँझ ५ बजे बस्ने तय भएको छ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, बैठकमा प्रधान न्यायाधीशको सिफारिससहित विभिन्न संवैधानिक विषयमा निर्णय गर्ने तयारी गरिएको छ।
यसैबीच, राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेका थिए। नयाँ व्यवस्था अनुसार परिषद्को बैठक बस्न कम्तीमा चार सदस्य उपस्थित भए पुग्नेछ, जबकि परिषद्मा कुल ६ सदस्य रहने व्यवस्था छ। साथै, निर्णय गर्न तीन जनाको बहुमत पर्याप्त हुने प्रावधान राखिएको छ।
संवैधानिक परिषद्को अध्यक्ष प्रधानमन्त्री रहनेछन् भने सदस्यहरूमा प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपसभामुख, प्रमुख प्रतिपक्ष दलका नेता र प्रधान न्यायाधीश रहने व्यवस्था छ।
हाल परिषद्मा प्रधानमन्त्री बालेन शाहसहित सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख रुवीकुमारी ठाकुर, प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे र कायममुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल सहभागी छन्।
तपाईको प्रतिक्रिया