सुलभ अग्रवाल र दीपक भट्टलाई थप १२ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेका व्यवसायी सुलभ अग्रवाल र दीपक भट्टलाई थप १२ दिन थुनामा राख्न अनुमति दिएको छ।
बुधबार न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले अनुसन्धान अझै नसकिएको निष्कर्ष निकाल्दै म्याद थप गर्ने आदेश दिएको हो।
अदालतको निर्णयअनुसार शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवालको हकमा छैटौँ पटक र दीपक भट्टको हकमा पाँचौँ पटक म्याद थप गरिएको हो। यो म्याद वैशाख २३ गतेदेखि लागू हुने गरी निर्धारण गरिएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरूविरुद्ध सोही कसुरसँग सम्बन्धित विभिन्न पक्षमा अनुसन्धान गरिरहेको छ। विभागले सरकारी वकिलको रायसहित अभियोजन प्रक्रिया पूरा गर्न अझै समय आवश्यक रहेको उल्लेख गर्दै म्याद थपको माग गरेको थियो।
यसैबीच, हालै संशोधन गरिएको सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अनुसार मुद्दा हेर्ने प्रक्रिया र अधिकार क्षेत्रमा परिवर्तन आएको छ। सोही नयाँ व्यवस्थाअनुसार संयुक्त अनुसन्धान टोलीले थप छानबिन अघि बढाएको बताइएको छ।
तपाईको प्रतिक्रिया