काठमाडौँ । सरकारले विभिन्न क्षेत्रसँग सम्बन्धित १२ वटा ट्रेड युनियनको दर्ता खारेज गरेको छ।
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले बुधबार गरेको निर्णयअनुसार निजामती सेवा ऐन, २०४९ अन्तर्गत दर्ता भएका ८ वटा र स्वास्थ्य सेवा ऐनअन्तर्गत दर्ता भएका ४ वटा ट्रेड युनियन खारेज गरिएका हुन्।
यसअघि सरकारले केही नेपाल ऐन संशोधन गर्न अध्यादेश जारी गर्दै दलगत आधारमा गठन भएका निजामती कर्मचारी तथा राष्ट्रिय स्तरका ट्रेड युनियनहरू हटाउने व्यवस्था गरेको थियो। सोही व्यवस्थाअनुसार विभागको पञ्जिकाधिकारीले दर्ता खारेज गर्ने निर्णय गरेका हुन्।
खारेज गरिएका निजामती कर्मचारीसम्बन्धी युनियनहरूमा नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, नेपाल मधेसी निजामती कर्मचारी मञ्च, नेपाल स्वास्थ्यकर्मी संघ, मधेसी स्वास्थ्यकर्मी फोरम नेपाल, एकीकृत सरकारी कर्मचारी संगठन नेपाल र स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन नेपाल रहेका छन्।
त्यसैगरी स्वास्थ्य सेवा ऐनअन्तर्गत दर्ता भएका नेपाल स्वास्थ्यकर्मी युनियन, स्वास्थ्यकर्मी युनियन नेपाल, राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाल र राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठनको दर्ता पनि खारेज गरिएको छ।
तपाईको प्रतिक्रिया