बिहीबार २४ बैशाख २०८३
राजनीति

सांसदहरूको बायोमेट्रिक विवरण संकलन सुरु

बिहीबार बैशाख २४, २०८३/ Thursday 05-07-26

काठमाडौं । संघीय संसद्का दुवै सदनका सदस्यहरूको उपस्थितिलाई अब विद्युतीय प्रणालीमार्फत अभिलेखीकरण गर्ने तयारीस्वरूप संसद् सचिवालयले सांसदहरूको बायोमेट्रिक विवरण संकलन सुरु गरेको छ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठकमा सहभागी हुने सांसदहरूको हाजिरी डिजिटल प्रणालीबाट राख्न आवश्यक जैविक विवरण उपलब्ध गराउन सचिवालयले आग्रह गरेको हो। यसका लागि बिहीबारदेखि २८ वैशाखसम्म सिंहदरबारस्थित विभिन्न समिति कार्यालयमा उपस्थित भएर विवरण दर्ता गर्न सांसदहरूलाई सूचना दिइएको छ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार, यसअघि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जडान गरिएको विद्युतीय हाजिरी प्रणाली जनजी आन्दोलनका क्रममा क्षति पुगेपछि नयाँ प्रणाली कार्यान्वयन गर्न पुनः विवरण संकलन गर्न लागिएको हो।

उनले प्रारम्भिक चरणमा संसद् बैठकहरूको हाजिरी मात्र विद्युतीय प्रणालीमार्फत राखिने र पछि क्रमशः समितिका बैठकहरूमा पनि यही व्यवस्था विस्तार गरिने बताए।

दुवै सदनका आगामी बैठकहरू २८ वैशाख दिउँसो २ बजेबाट बस्ने तय गरिएको छ।

तपाईको प्रतिक्रिया