ठमेलको छायाँदेवी कम्प्लेक्स भत्काउन माग गर्दै माइतीघरमा प्रदर्शन
काठमाडौँ । ठमेलस्थित छायाँदेवी कम्प्लेक्स हटाएर ऐतिहासिक कमलपोखरी पुनःस्थापना गर्न माग गर्दै बिहीबार राजधानीमा प्रदर्शन गरिएको छ ।
सम्पदा संरक्षण समाज र आदिवासी नेवाः राजनीतिक अभियानको आयोजनामा माइतीघर मण्डलामा प्रदर्शन गर्दै सहभागीहरूले ऐतिहासिक, सांस्कृतिक, धार्मिक तथा पुरातात्त्विक महत्व बोकेको सार्वजनिक कमलपोखरी मासेर व्यापारिक कम्प्लेक्स निर्माण गरिएको भन्दै विरोध जनाएका हुन् ।
प्रदर्शनकारीहरूले “ऐतिहासिक सम्पदा कमलपोखरी सार्वजनिक कायम गरौँ”, “सम्पदा संरक्षण अभियानमा सबै नेपाली एक होऔँ” र “सम्पदा विनाश बन्द गर” लगायतका नारासहित प्लेकार्ड प्रदर्शन गरेका थिए ।
सम्पदा संरक्षण समाजका सदस्य नारायण महर्जनले ऐतिहासिक सम्पदा नष्ट गरेर बनाइएको संरचना भत्काउन अदालतले आदेश दिनुपर्ने माग गरे । उनका अनुसार ११औँ शताब्दीको ऐतिहासिक कमलपोखरीलाई पुरानै स्वरूपमा फर्काउन निरन्तर दबाबमूलक अभियान सञ्चालन गरिनेछ ।
तपाईको प्रतिक्रिया