बिहीबार २४ बैशाख २०८३
समाज

खुलेको केही घण्टामै पुनः बन्द भयो बिपी राजमार्ग

बिहीबार बैशाख २४, २०८३/ Thursday 05-07-26

काभ्रेपलाञ्चोक। बाढीका कारण अवरुद्ध भएको बिपी राजमार्ग शुक्रबार बिहान केही समयका लागि सञ्चालनमा आए पनि रोशी खोलामा पानीको बहाव बढेपछि पुनः बन्द गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी सुमनराज अधिकारीका अनुसार अस्थायी डाइभर्सन निर्माण गरेर आज बिहानदेखि सवारी आवागमन सञ्चालन गरिएको थियो । तर वर्षासँगै खोलामा पानीको सतह बढेपछि सुरक्षाका कारण पुनः यातायात बन्द गरिएको हो ।

गत सोमबार परेको अविरल वर्षापछि रोशी खोलामा आएको बाढीले राजमार्ग अवरुद्ध बनेको थियो । वर्षा जारी रहेकाले प्रहरीले अत्यावश्यक बाहेक यो मार्ग प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

रोशी क्षेत्रमा निर्माण गरिएको करिब चार किलोमिटर लामो अस्थायी डाइभर्सन वर्षा हुनेबित्तिकै जोखिममा पर्ने भएकाले बेलाबेलामा यातायात रोक्नुपर्ने अवस्था रहेको प्रहरीले जनाएको छ । राजमार्ग बन्द भएपछि सवारी साधनलाई धुलिखेल, काभ्रेभञ्ज्याङ, मङ्गलटार र सिन्धुलीको नेपालथोक क्षेत्रमा रोकिएको छ ।

गत वर्षको बाढीपहिरोले चौकीडाँडा, रोशी र नेपालथोक क्षेत्रमा करिब १८ किलोमिटर सडक बगाएपछि खोलामै अस्थायी डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएको थियो । हाल उक्त क्षेत्रमा सडक पुनर्निर्माणको काम जारी रहेको छ ।

 

तपाईको प्रतिक्रिया