उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष श्रेष्ठद्वारा पदभार ग्रहण
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठले बिहीबार पदभार ग्रहण गरेका छन्। महासंघको कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष श्रेष्ठसँगै अन्य पदाधिकारीहरूले पनि औपचारिक रूपमा जिम्मेवारी सम्हाले।
पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकाल निजी क्षेत्रको आत्मविश्वास पुनःस्थापित गर्ने दिशामा केन्द्रित रहने बताए। उनले निजी क्षेत्रको मनोबल बढाउन सरकारसँग सहकार्य गरी आवश्यक नीतिगत सुधार अघि बढाइने उल्लेख गरे।
उनका अनुसार लगानीको वातावरण सुरक्षित र निजी क्षेत्रमैत्री बनाउन सरकार गम्भीर हुन आवश्यक छ। निजी क्षेत्रको प्रवर्द्धन तथा सुरक्षासम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको सन्दर्भ उल्लेख गर्दै उनले त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिए।
श्रेष्ठले हाल बजारमा माग कमजोर रहेको, उपभोक्ताको क्रयशक्ति घटेको र अर्थतन्त्रमा पुँजी प्रवाह सुस्त बनेको बताए। उनले आगामी बजेटमार्फत पुँजी परिचालन बढाउने नीति ल्याउन सरकारलाई आग्रह गरे।
विशेषगरी साना तथा मझौला उद्योगहरू अहिले सबैभन्दा कठिन अवस्थामा रहेको उनको भनाइ थियो। बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य रकम हुँदाहुँदै पनि ती उद्योगहरूले आवश्यक कर्जा सहज रूपमा पाउन नसकेको उनले बताए।
उनले विगतमा सहकारी क्षेत्रमार्फत करिब ६ खर्ब रुपैयाँ बराबरको पुँजी परिचालन हुने गरेको स्मरण गर्दै सहकारी संकटपछि साना उद्योगहरूमा लगानी अभाव गम्भीर बनेको उल्लेख गरे। अब बैंकहरूले साना तथा मझौला उद्यममा लगानी विस्तार गर्न स्पष्ट योजना बनाउनुपर्ने आवश्यकता रहेको अध्यक्ष श्रेष्ठले बताए।
तपाईको प्रतिक्रिया