नेपाल ‘ए’ ले स्कटल्यान्डलाई दियो २७८ रनको लक्ष्य, देव खनालको अर्धशतक
काठमाडौँ । नेपालको ‘ए’ टोलीले एकदिवसीय अभ्यास शृङ्खलाको पहिलो खेलमा स्कटल्यान्डविरुद्ध प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ । माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ ले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २७७ रन बनाएको हो ।
नेपालका लागि देव खनालले सर्वाधिक ६३ रन बनाए भने मयन यादवले ४५ रनको योगदान दिए । सन्दीप जोराले ३४ रन जोडेका थिए । अन्तिमतिर दीपक डुम्रेले आक्रामक ब्याटिङ गर्दै ७ बलमै अविजित २३ रन बनाएपछि नेपाल सम्मानजनक योगफलतर्फ पुगेको हो ।
स्कटल्यान्डका ब्राडली करी र सफयान शरिफले समान २/२ विकेट लिए ।
आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको सिरिज खेल्न नेपाल आएका स्कटल्यान्ड र अमेरिकासँग नेपाल ‘ए’ टोलीले अभ्यास शृङ्खला खेलिरहेको हो । नेपाल ‘ए’ ले दुवै टोलीसँग दुई–दुई वटा अभ्यास खेल खेल्ने तालिका रहेको छ ।
नेपाल ‘ए’ ले अब दोस्रो अभ्यास खेलमा भोलि अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ । त्यसपछि पर्सि पुनः स्कटल्यान्डसँग र आउँदो सोमबार अमेरिकासँग खेल हुनेछ ।
यस्तै, वैशाख २८ गतेदेखि जेठ ८ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल, अमेरिका र स्कटल्यान्डबीच आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खला आयोजना हुँदैछ ।
तपाईको प्रतिक्रिया