बिहीबार २४ बैशाख २०८३
राजनीति

बालेन्द्र शाहले तीन महिनासम्म कुनै विदेश यात्रा नगर्ने

बुधबार बैशाख २३, २०८३/ Wednesday 05-06-26

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले सरकार गठनपछि १०० दिनसम्म कुनै पनि विदेश भ्रमण नगर्ने भएका छन्। सचिवालयका अनुसार प्रारम्भिक तीन महिनामा देशभित्रै परिणाममुखी काम गर्ने रणनीति अपनाइएकाले भारत र चीन भ्रमण तत्कालका लागि पछि सारिएको हो।

परराष्ट्र मन्त्रालयले भारत भ्रमणका लागि एजेन्डा तयारी र कूटनीतिक समन्वय अघि बढाइरहेको भए पनि मिति तय भएको छैन। बजेट तयारी, आन्तरिक प्राथमिकता र सरकारका कार्यक्रमका कारण तत्काल विदेश यात्रा सम्भव नभएको बताइएको छ।

भारतले औपचारिक निमन्त्रणा दिएको भए पनि प्रधानमन्त्री शाहले घरेलु कामलाई प्राथमिकता दिने नीति लिएको सचिवालयको भनाइ छ। तीन महिनापछि मात्रै विदेश भ्रमणबारे निर्णय हुने र त्यसपछि मात्र भारत वा चीन यात्रा तय हुन सक्ने बताइएको छ।

यसअघि नेपाल–भारत उच्चस्तरीय भेटवार्ता र भ्रमण तयारीबारे परराष्ट्र मन्त्रालयले प्रारम्भिक छलफल गरिसकेको थियो। तर हाल सबै प्रक्रिया समीक्षा र तयारी चरणमै रहेको बताइएको छ।

 

तपाईको प्रतिक्रिया