संवैधानिक परिषद्को बैठक आज बस्दै, प्रधानन्यायाधीशको नियुक्तिबारे छलफल हुने
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह को आह्वानमा आज संवैधानिक परिषद्को बैठक बस्ने भएको छ । बैठक अपराह्न ५ बजे सिंहदरबारमा बोलाइएको हो ।
प्रधानमन्त्री तथा परिषद्का अध्यक्ष शाहको निर्देशनमा बोलाइएको बैठकमा सर्वोच्च अदालतका नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिसबारे छलफल हुने बताइएको छ ।
बैठकमा सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कानुनमन्त्री सोविता गौतम, प्रमुख प्रतिपक्षी दलका नेता भीमराज आङ्देम्बे तथा उपसभामुख रुवी कुमारी लाई आमन्त्रण गरिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल ले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेलगत्तै परिषद्को बैठक बोलाइएको हो । अध्यादेशअनुसार अब ६ सदस्यीय परिषद्को बैठक बस्न चार सदस्यको गणपूरक संख्या पर्याप्त हुने व्यवस्था गरिएको छ ।
यस व्यवस्थासँगै परिषद्मा उपस्थित सदस्यहरूको बहुमतबाट निर्णय गर्न सकिने भएकाले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढ्ने सम्भावना बढेको छ । यसअघि राष्ट्रपति पौडेलले सरकारले सिफारिस गरेको अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाएका थिए । तर सरकारले कुनै संशोधन नगरी पुनः पठाएपछि राष्ट्रपतिले अध्यादेश जारी गरेका हुन् ।
तपाईको प्रतिक्रिया