बिहीबार २४ बैशाख २०८३
माैसम

आजको मौसमः पहाडमा वर्षा, हिमाली क्षेत्रमा हिमपात हुने

बिहीबार बैशाख २४, २०८३/ Thursday 05-07-26

काठमाडौं। पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक बनेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण देशभर मौसम आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी प्रदेशको हिमाली क्षेत्रमा सामान्य बदली रहेको छ भने अन्य स्थानमा आंशिक बदली देखिएको छ।

आज दिउँसो देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। लुम्बिनी, कर्णाली, सुदूरपश्चिमसहित विभिन्न प्रदेशका पहाडी र हिमाली क्षेत्रका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने सम्भावना पनि रहेको छ।

तराईका केही स्थानमा भने चट्याङ्गसहित हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

आज राति पनि कोशी प्रदेशसहित हिमाली क्षेत्रमा सामान्य बदली कायम रहनेछ भने अन्य भूभागमा आंशिक बदली रहने मौसमविद्ले बताएका छन्। कोशी प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ भने मधेससहित अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ।

 

तपाईको प्रतिक्रिया