शुक्रबार २५ बैशाख २०८३
माैसम

कोशीसहित पहाडी क्षेत्रमा मेघगर्जन र हिमपातको सम्भावना

शुक्रबार बैशाख २५, २०८३/ Friday 05-08-26

काठमाडौं। जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो कोशी प्रदेशका अधिकांश स्थान तथा मधेश प्रदेशका केही क्षेत्रसहित तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मध्यम वर्षासँगै हिमपात हुन सक्ने सम्भावना छ। साथै मधेश प्रदेशका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।

यस्तै, भोलिका लागि पनि मौसम पूर्ण रूपमा स्थिर नरहने पूर्वानुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा तथा अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। तराई क्षेत्रका केही स्थानमा हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।

हाल काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा मौसम खुलेर घाम लागेको भए पनि प्रि–मनसुन सक्रिय रहेकाले जुनसुकै समयमा वर्षा, चट्याङ तथा हिमपात हुन सक्ने मौसमविद्ले बताएका छन्। महाशाखाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

 

तपाईको प्रतिक्रिया