नेपाल लाइफ इन्स्योरेन्सको २५ वर्षे यात्रा: देशव्यापी स्वास्थ्य शिविर र रक्तदानसहित वार्षिकोत्सव सम्पन्न
काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको २५औं वार्षिकोत्सवको अवसरमा नि:शुल्क स्वास्थ्य शिविर तथा देशव्यापी बृहत् रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
कम्पनीले २०८३ वैशाख २१ र २२ गते आफ्नो प्रधान कार्यालय परिसरमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो। आरबी डायग्नोस्टिक को प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरमा ईसीजी, थाइराइड, सुगर, प्रेसर, एसजीपीटी, कोलेस्ट्रोल, यूरिक एसिडलगायतका परीक्षण तथा विशेषज्ञ चिकित्सकबाट नि:शुल्क परामर्श सेवा प्रदान गरिएको थियो। दुई दिने शिविरबाट कुल ६०१ जनाले सेवा लिएका कम्पनीले जनाएको छ।

यसै अवसरमा कम्पनीले देशभरका सातै प्रदेशका १३ स्थानमा बृहत् रक्तदान कार्यक्रम पनि आयोजना गरेको छ। कार्यक्रममार्फत कोशी प्रदेशको इटहरीमा ३०, मधेश प्रदेशको वीरगञ्जमा २५ र जनकपुरमा २५, बागमती प्रदेशको काठमाडौंमा ७८, नारायणगढमा ८१, नुवाकोटमा ३९, हेटौंडामा २६ र बनेपामा ३२, गण्डकी प्रदेशको पोखरामा ५५, लुम्बिनी प्रदेशको बुटवलमा ३३ र भैरहवामा ३४, कर्णाली प्रदेशको सुर्खेतमा २५ तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा ३३ पिन्ट रगत संकलन गरिएको छ। कुल ५०५ पिन्ट रगत संकलन भएको कम्पनीले जनाएको छ।
‘किनकि, जीवन अमूल्य छ’ भन्ने नारासहित सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै नेपाल लाइफ इन्स्योरेन्सले स्वास्थ्य तथा रक्तदान कार्यक्रम सञ्चालन गरेको हो। कम्पनीका अनुसार विगत २५ वर्षदेखि बीमा सेवामार्फत करिब ५४ लाख नेपाली परिवारलाई सेवा दिँदै आएको कम्पनीले देशभर ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गरेको छ भने ६९ हजारभन्दा बढी अभिकर्तामार्फत सेवा प्रवाह गर्दै आएको छ।
वार्षिकोत्सवको अवसरमा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले मार्गदर्शन प्रदान गर्नुहुने सञ्चालक समितिका अध्यक्ष तथा सदस्य, शेयरधनी, ग्राहक, अभिकर्ता, कर्मचारी, नियामक निकाय तथा सबै सरोकारवालाप्रति धन्यवाद तथा शुभकामना व्यक्त गरेका छन्। उनले आगामी दिनमा पनि सबैको निरन्तर साथ, विश्वास र सहकार्यको अपेक्षा रहेको बताएका छन्।
तपाईको प्रतिक्रिया