शुक्रबार २५ बैशाख २०८३
राजनीति

प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम सिफारिस

बिहीबार बैशाख २४, २०८३/ Thursday 05-07-26

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहको आह्वानमा बिहीबार बसेको संवैधानिक परिषद् बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम सिफारिस गरेको छ।

वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ललाई पछि पार्दै चौथो वरीयतामा रहेका शर्मालाई परिषद्ले बहुमतका आधारमा प्रधानन्यायाधीशका लागि अघि सारेको हो। प्रधानमन्त्रीसमेत रहेका परिषद् अध्यक्ष बालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता भीमराज आङ्देम्बेको असहमतिबीच तीन सदस्यीय बहुमतबाट निर्णय गरिएको बताइएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहले सर्वोच्च अदालतको नेतृत्व चयन प्रक्रिया अघि बढाउन बिहीबार साँझ ५ बजे परिषद् बैठक बोलाएका थिए। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह, सभामुख डोलप्रसाद अर्याल र कानुनमन्त्री सोविता गौतमको समर्थनमा शर्माको नाम अनुमोदन गरिएको हो।

सिफारिस भएका शर्मा प्रधानन्यायाधीशमा नियुक्त भए सर्वोच्च अदालतको नेतृत्व २०८९ वैशाखसम्म गर्नेछन्। उनी २०७६ वैशाख ६ गते सर्वोच्च अदालतमा न्यायाधीशका रूपमा प्रवेश गरेका थिए। २०२७ असार ४ गते जन्मिएका शर्माको कार्यकालभर सर्वोच्च अदालतका ११ जना न्यायाधीश अवकाश हुनेछन्।

यसअघि न्याय परिषद्ले सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल, डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो। अब शर्माको नाम संसदीय सुनुवाइ प्रक्रियाबाट अनुमोदन भएपछि औपचारिक रूपमा प्रधानन्यायाधीश नियुक्त हुनेछन्।

बैठकमा सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कानुनमन्त्री सोविता गौतम, विपक्षी दलका नेता भीमराज आङ्देम्बे तथा उपसभामुख रुवी कुमारी सहभागी थिए।

राष्ट्रपति  रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेलगत्तै परिषद्को बैठक बोलाइएको थियो।

 

तपाईको प्रतिक्रिया