शुक्रबार २५ बैशाख २०८३
समाज

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

बिहीबार बैशाख २४, २०८३/ Thursday 05-07-26

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण परियोजनासँग सम्बन्धित भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अख्तियारका अनुसार ठेक्का सम्झौतामा उल्लेख नभएको सुविधा प्रदान गर्दै निर्माण कम्पनीलाई राजस्व छुट दिइएको र त्यसबाट राज्यलाई नोक्सानी पुर्‍याइएको आरोपमा मुद्दा दर्ता गरिएको हो। विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले आयोगले ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो दाबी गर्दै आरोपपत्र पेश गरेको जानकारी दिए।

मुद्दामा तत्कालीन अर्थमन्त्री कार्कीसँगै अर्थसचिव शंकरप्रसाद अधिकारी, तत्कालीन पर्यटन सचिव महेश्वर न्यौपाने, सहसचिवद्वय सुरेश आचार्य र दुण्डुराज घिमिरे, पूर्वसचिव केवल भण्डारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतम तथा निवर्तमान महानिर्देशक प्रदीप अधिकारीलाई प्रतिवादी बनाइएको छ।

त्यसैगरी उपसचिव युवराज पाण्डे, शाखा अधिकृत उर्मिला भण्डारी र इन्जिनियर योगेश अर्यालमाथि पनि भ्रष्टाचार अभियोग लगाइएको छ।

अख्तियारले विमानस्थल निर्माणमा संलग्न चिनियाँ निर्माण कम्पनी सीएएमसी, त्यसका अध्यक्ष, परियोजना व्यवस्थापक तथा कम्पनी म्यानेजरविरुद्ध समेत मुद्दा दायर गरेको जनाएको छ।

यसअघि आयोगले गत २१ मंसिरमा पाँच जना मन्त्रीलाई विपक्षी बनाउँदै भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो। त्यसपछि ८ चैतमा पनि पोखरा विमानस्थल निर्माणसँग सम्बन्धित अर्को मुद्दा दायर गरिएको थियो। बिहीबार दर्ता भएको यो मुद्दा सोही प्रकरणमा तेस्रो भ्रष्टाचार मुद्दा हो।

तपाईको प्रतिक्रिया