शुक्रबार २५ बैशाख २०८३
खेलकुद

अमेरिकासँगको अभ्यास खेलमा नेपाल ‘ए’ ले पायो २६३ रनको चुनौतीपूर्ण लक्ष्य

शुक्रबार बैशाख २५, २०८३/ Friday 05-08-26

काठमाडौं । एकदिवसीय अभ्यास शृङ्खलाअन्तर्गत दोस्रो खेलमा अमेरिकाले नेपाल ‘ए’ टोलीलाई २६३ रनको लक्ष्य दिएको छ।

माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६२ रन बनायो। अमेरिकाका स्मित पटेलले उत्कृष्ट शतक प्रहार गर्दै १०८ बलमा ११६ रन बनाए।

नेपाल ‘ए’ का तर्फबाट पवन सर्राफले २ विकेट लिए भने विपिन खत्री, शाहब आलम, बसिर अहमद, शेर मल्ल, रशिद खान र नारायण जोशीले समान १/१ विकेट हात पारे।

यसअघि अभ्यास शृङ्खलाको पहिलो खेलमा नेपाल ‘ए’ ले स्कटल्यान्डलाई ४५ रनले पराजित गरेको थियो। आईसीसी क्रिकेट विश्वकप लिग–२ को तयारीका क्रममा नेपाल आएका अमेरिका र स्कटल्यान्डसँग नेपाल ‘ए’ टोलीले अभ्यास शृङ्खला खेलिरहेको हो।

नेपाल ‘ए’ ले अब तेस्रो खेलमा भोलि स्कटल्यान्डसँग तथा चौथो खेलमा सोमबार अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ।

नेपाल, अमेरिका र स्कटल्यान्डबीचको आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खला वैशाख २८ गतेदेखि जेठ ८ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुनेछ।

 

तपाईको प्रतिक्रिया