तनहुँ। तनहुँमा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमणको विवरण अद्यावधिक गरिने भएको छ। प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको अध्यक्षतामा बसेको सुरक्षा निकाय, स्थानीय तह तथा सरोकारवालाको बैठकले अतिक्रमित जग्गाको नयाँ विवरण संकलन गरी जिल्ला प्रशासन कार्यालयमा पेस गर्ने निर्णय गरेको हो।
बैठकले सरकारी तथा सार्वजनिक जग्गामा बसोबास गरिरहेका व्यक्तिमध्ये वास्तविक सुकुम्वासी को हुन् भन्ने पहिचान सम्बन्धित स्थानीय तहले गर्ने निर्णय पनि गरेको छ। पहिचान भएका सुकुम्वासीका लागि सुरक्षित आवास, स्वास्थ्य उपचार, खानपान, परामर्श सेवा, महिला तथा अपाङ्गतामैत्री सुविधा र सुरक्षा व्यवस्थाको तयारी गरिने बताइएको छ।
त्यस्तै, वास्तविक सुकुम्वासी व्यवस्थापनका लागि आवश्यक सुरक्षा माग स्थानीय तहले जिल्ला प्रशासन कार्यालयमार्फत गर्न सक्ने व्यवस्था गरिएको छ। जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयसँग समन्वय गरी अतिक्रमण हटाउने कार्यमा आवश्यक सुरक्षा प्रबन्ध मिलाउने जनाएको छ।
प्रमुख जिल्ला अधिकारी तिवारीले अब जिल्लामा सरकारी तथा सार्वजनिक जग्गाको नयाँ अतिक्रमण हुन नदिने गरी कडाइ गरिने बताएका छन्। साथै अतिक्रमण हटाउने सम्बन्धी सबै गतिविधिबारे आमजनतालाई जानकारी गराइने पनि प्रशासनले जनाएको छ।
तपाईको प्रतिक्रिया