शनिबार २६ बैशाख २०८३
राजनीति

अर्थतन्त्र रूपान्तरणका लागि सरकार–निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्छ: अर्थमन्त्री वाग्ले

शनिबार बैशाख २६, २०८३/ Saturday 05-09-26

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रका उद्योगी–व्यवसायीमाथि सरकारले धरपकड गर्ने तयारी गरेको भन्ने हल्लामा विश्वास नगर्न आग्रह गरेका छन्।

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रका व्यवसायीलाई लक्षित गरेर थुन्ने वा धरपकड गर्ने कुनै सूची सरकारसँग नरहेको स्पष्ट पारे। “हल्लाको पछि नलाग्नुहोस्, तपाईंहरू हाम्रो साझेदार हो,” उनले भने।

अर्थमन्त्री वाग्लेले सरकारले लक्ष्य राखेको १०० अर्ब डलर अर्थतन्त्र निर्माणमा निजी क्षेत्र महत्वपूर्ण साझेदार हुने उल्लेख गरे। साथै उनले सरकारका पाँच प्राथमिकता पनि प्रस्तुत गरे। उनका अनुसार पहिलो प्राथमिकता सुशासन, दोस्रो अर्थतन्त्रको पुनरुत्थान, तेस्रो आन्तरिक तथा बाह्य कनेक्टिभिटी विस्तार, चौथो सामाजिक लगानी वृद्धि र पाँचौँ पर्यटन, संस्कृति तथा इतिहासमार्फत ‘सफ्ट पावर’ विस्तार हो।

उनले अहिले मुलुक अर्थतन्त्रको दिशा परिवर्तन गर्ने महत्वपूर्ण मोडमा रहेको भन्दै आगामी बजेटसम्म धैर्य गर्न उद्योगी–व्यवसायीलाई आग्रह गरे।

त्यस क्रममा उनले भारतको उदाहरण दिँदै सन् २०१४–१५ मा नरेन्द्र मोदीले सत्ता सम्हाल्दा भारत र नेपालको केही आर्थिक सूचक समान रहेको तर १२ वर्षमा भारतले ठूलो आर्थिक प्रगति गरेको उल्लेख गरे। “हामी पनि त्यही बाटोमा अघि बढ्ने बेला आएको छ,” उनले बताए।

 

तपाईको प्रतिक्रिया