शनिबार २६ बैशाख २०८३
राजनीति

सहकारी नियमन प्राधिकरणमा अध्यक्ष र सदस्यका लागि आवेदन आह्वान

शनिबार बैशाख २६, २०८३/ Saturday 05-09-26

काठमाडौं। सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष तथा विज्ञ सदस्य पदमा नियुक्तिका लागि इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ‘सहकारी ऐन, २०७४’ तथा ‘प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि सिफारिससम्बन्धी मापदण्ड, २०८३’ अनुसार आवेदन माग गरेको हो।

अध्यक्ष पदका लागि अर्थशास्त्र, वाणिज्य, व्यवस्थापन, लेखा, कानून वा सहकारी विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै नेपाल सरकारको राजपत्रांकित विशिष्ट श्रेणी वा सो सरहको पदमा काम गरेको अथवा राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरका बैंक, वित्तीय संस्था वा सहकारी क्षेत्रमा कम्तीमा १५ वर्षको अनुभव आवश्यक पर्नेछ।

विज्ञ सदस्य पदका लागि पनि सोही विषयमध्ये कुनै एकमा स्नातकोत्तर उपाधि हासिल गरेको तथा बैंक, वित्तीय संस्था वा सहकारी क्षेत्रमा कम्तीमा १० वर्षको कार्यानुभव भएको हुनुपर्ने व्यवस्था गरिएको छ।

दुवै पदका लागि आवेदन दिने व्यक्तिको उमेर ६० वर्ष ननाघेको हुनुपर्नेछ। साथै वित्तीय सहकारी क्षेत्रमा रहेका समस्या, चुनौती र अवसर समेटिएको कार्ययोजना पनि आवेदनसँगै पेश गर्नुपर्नेछ।

सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र ललितपुरको पुल्चोकस्थित राष्ट्रिय सहकारी नियमन प्राधिकरणको कार्यालयमा दरखास्त बुझाउन सकिने मन्त्रालयले जनाएको छ।

 

तपाईको प्रतिक्रिया