काठमाडौं। सरकारले डेङ्गु संक्रमण देखिएका १३ स्थानीय तहलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले ती क्षेत्रमा संक्रमण बढ्न सक्ने सम्भावना रहेको भन्दै आवश्यक सावधानीका उपाय तत्काल लागू गर्न पत्राचार गरेको हो।
महाशाखाको किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार पुस महिनायता देशभरका स्थानीय तहमा डेङ्गु संक्रमणको अवस्था अध्ययन भइरहेको छ। अधिकांश स्थानमा छिटफुट संक्रमण देखिए पनि १३ स्थानीय तहमा पाँच जनासम्म संक्रमित भेटिएकाले विशेष सतर्कता अपनाउन भनिएको उनले बताए।
सतर्कता अपनाउन भनिएका स्थानीय तहमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका, झापाका भद्रपुर नगरपालिका, बिर्तामोड नगरपालिका, मेचीनगर नगरपालिका र कचनकवल गाउँपालिका, सुनसरीको धरान उपमहानगरपालिका, म्याग्दीको बेनी नगरपालिका, चितवनको भरतपुर महानगरपालिका, रुपन्देहीको बुटवल उपमहानगरपालिका, मकवानपुरको हेटौंडा उपमहानगरपालिका, सिन्धुलीको कमलामाई नगरपालिका र ललितपुर महानगरपालिका रहेका छन्।
महाशाखाका अनुसार पुस यता देशभर करिब ६ सय जनामा डेङ्गु संक्रमण पुष्टि भइसकेको छ। डा. दाहालले हाल परेको अस्थायी वर्षाले संक्रमणको जोखिम तत्काल नबढाउने बताए।
उनले भने, “अहिलेको पानी छोटो समयका लागि मात्र पर्ने भएकाले डेङ्गु सार्ने लामखुट्टे फैलिने सम्भावना कम छ।”
डेङ्गु ‘एडिस एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिका लामखुट्टेको टोकाइबाट सर्छ। यी लामखुट्टेले सफा र जमेको पानीमा फुल पार्ने भएकाले घर वरपर पानी जम्न नदिन, लामखुट्टेबाट बच्ने उपाय अपनाउन र ज्वरो आएमा तुरुन्त स्वास्थ्य संस्थामा जाँच गराउन महाशाखाले आग्रह गरेको छ।
तपाईको प्रतिक्रिया