अमेरिका–इरान तनाव अन्त्य गर्न कतार सक्रिय, आणविक सम्झौतामा गम्भीर वार्ता जारी
काठमाडौं । कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुल रहमान अल थानीले अमेरिका–इरान युद्ध अन्त्य गर्ने प्रयासस्वरूप अमेरिकी विदेशमन्त्री मार्को रुबियो र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफसँग फ्लोरिडाको मायामीमा गोप्य भेटवार्ता गरेका छन्। अमेरिकी सञ्चारमाध्यम एक्सियसका अनुसार उक्त भेटमा युद्ध रोक्ने, हर्मुज जलडमरु पुनः सञ्चालन गर्ने तथा इरानको आणविक कार्यक्रमलाई सीमित गर्ने विषयमा गम्भीर छलफल भएको थियो।
अमेरिकाले इरानलाई १४ बुँदे प्रस्तावसहित एकपन्ने समझदारीपत्र पठाएको छ, जसमा तत्काल युद्धविराम घोषणा गरेर ३० दिनसम्म विस्तृत वार्ता गर्ने प्रस्ताव राखिएको छ। उक्त अवधिमा हर्मुजमा जहाज आवतजावतमा लगाइएको प्रतिबन्ध हटाउने, अमेरिकी नौसैनिक नाकाबन्दी क्रमशः अन्त्य गर्ने र इरानमाथिका आर्थिक प्रतिबन्ध खुकुलो बनाउने विषय समेटिएको बताइएको छ।
युद्ध सुरु भएदेखि पाकिस्तानले अमेरिका र इरानबीच औपचारिक मध्यस्थकर्ताको भूमिका खेले पनि कतारले पर्दा पछाडिबाट सक्रिय कूटनीतिक प्रयास गरिरहेको जनाइएको छ। अमेरिकाले अहिले पनि इरानसँग संवाद गराउन कतार प्रभावकारी हुने विश्वास गरेको बताइएको छ। यसैक्रममा कतारी प्रधानमन्त्रीले मायामी भ्रमणका क्रममा साउदी अरबका विदेशमन्त्रीसँग पनि फोनवार्ता गरेर मध्यस्थताबारे छलफल गरेका थिए।
वार्ताको सबैभन्दा पेचिलो विषय भने इरानको आणविक कार्यक्रम बनेको छ। अमेरिकाले इरानलाई २० वर्षसम्म युरेनियम प्रशोधन पूर्ण रूपमा रोक्नुपर्ने अडान राखेको बताइन्छ। तर इरान पाँच वर्षसम्म मात्र यस्तो प्रतिबन्ध स्वीकार गर्न तयार रहेको खबर छ। अहिले दुवै पक्षबीच कम्तीमा १२ वर्षसम्म युरेनियम प्रशोधन रोक्ने सहमति खोज्ने प्रयास भइरहेको बताइएको छ।
यसका साथै अमेरिकाले संयुक्त राष्ट्रसंघका निरीक्षकलाई इरानको आणविक केन्द्रमा आकस्मिक निरीक्षण गर्न दिनुपर्ने तथा विस्तारित अनुगमन प्रणाली लागू गर्नुपर्ने सर्त पनि अघि सारेको छ। बदलामा अमेरिकाले इरानमाथि लगाइएका आर्थिक प्रतिबन्ध क्रमशः हटाउने र विश्वभर रोक्का गरिएका अर्बौं डलर बराबरका इरानी सम्पत्ति फुकुवा गर्ने प्रतिबद्धता जनाएको छ।
तर यी सबै प्रस्तावमा इरानले अहिलेसम्म अन्तिम सहमति जनाएको छैन। अमेरिकाले पनि इरानले सर्तहरू पूर्ण रूपमा पालना गरेपछि मात्र चरणबद्ध रूपमा प्रतिबन्ध हटाउने अडान लिएको बताइएको छ।
तपाईको प्रतिक्रिया