त्रिभुवन विमानस्थलमा टर्किस एयरलाइन्सको पाङ्ग्रामा आगलागी, उडान–अवतरण प्रभावित
काठमाडौं।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्किस एयरलाइन्सको जहाजको चक्कामा आगो लागेपछि अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान–अवतरण प्रभावित भएका छन्।
विमानस्थल कार्यालयका अनुसार जहाज धावनमार्गमै रोकिएकाले केही समयका लागि उडान तथा अवतरण बन्द गरिएको हो। दिल्लीबाट आएको एयर इन्डिया र सारजाहबाट आएको एयर अरेबियाका जहाज आकाशमै होल्ड गरिएको जनाइएको छ।
यस्तै, हिमालय एयरलायन्सको ल्हासा उडानसहित अधिकांश माउन्टेन फ्लाइट पनि ढिलो भएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार जहाजलाई धावनमार्गबाट ट्याक्सीवेमा सारेर यात्रुको उद्धार गरिएको छ।
इस्तानबुलबाट काठमाडौं आएको टीके–७२६ नम्बरको जहाज आज बिहान पौने ७ बजेतिर अवतरणका क्रममा चक्कामा आगो लागेको थियो। दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको थियो भने यात्रुलाई आपत्कालीन ढोका खोलेर सुरक्षित रूपमा बाहिर निकालिएको थियो।
जहाजमा ४ बालबालिकासहित २७७ यात्रु सवार रहेका थिए। सबै यात्रु सुरक्षित रहेको बताइएको छ। उद्धारका क्रममा केही यात्रु सामान्य घाइते भएका छन्। जहाजमा केही शव तथा ठूलो परिमाणमा सामान पनि रहेको जनाइएको छ।
तपाईको प्रतिक्रिया