सोमबार २८ बैशाख २०८३
बिजनेस

टर्किस एयरलाइन्सको पाङ्ग्रामा आगलागीपछि बन्द भएको त्रिभुवन विमानस्थल डेढ़ घण्टापछि खुल्यो

सोमबार बैशाख २८, २०८३/ Monday 05-11-26

काठमाडौं। टर्किस एयरलाइन्सको जहाज अवतरणका क्रममा टायर पड्किएर आगलागी भएपछि केही समय अवरुद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आएको छ।

इस्तानबुलबाट आज बिहान काठमाडौं आएको जहाज अवतरण गरेलगत्तै टायर विस्फोट हुँदा आगो लागेको थियो। घटनापछि बिहान ६ः४५ बजेदेखि विमानस्थलको उडान तथा अवतरण सेवा रोकिएको थियो।

विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार करिब डेढ घण्टापछि विमानस्थल पुनः सञ्चालनमा आएको हो। बिहान ८ः३० बजे एयर इन्डियाको जहाज अवतरण गरेको थियो भने त्यसपछि फ्लाइ दुबईसहित अन्य उडान पनि नियमित हुन थालेका छन्।

विमानस्थल बन्द हुँदा एयर अरेबियाको जहाजले आकाशमै केही समय फन्का लगाएको थियो। फ्लाइ दुबई, एयर इन्डिया, कतार एयरवेज र नेपाल एयरलाइन्सका जहाजसमेत आकासमै होल्डमा राखिएका थिए।

विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार जहाजको चक्कामा लागेको आगो दमकलको सहायताले नियन्त्रणमा लिइएको थियो। त्यसपछि जहाजलाई रनवेमै रोकेर आपतकालीन ढोकाबाट यात्रुहरूको सुरक्षित उद्धार गरिएको थियो। जहाजमा २७३ यात्रु र ११ जना चालक दलका सदस्य रहेका थिए।

विमानस्थल स्रोतका अनुसार अहिले विमानस्थलको अवस्था सामान्य बनेको छ।

 

तपाईको प्रतिक्रिया