शुक्रबार १२ असार २०८३
समाज

भक्तपुरमा बर्डफ्लू पुष्टि, ४८ हजारभन्दा बढी कुखुरा नष्ट

बिहीबार असार ११, २०८३/ Thursday 06-25-26

भक्तपुर । जिल्लाका विभिन्न कुखुरा फार्ममा बर्डफ्लू संक्रमण पुष्टि भएपछि ठूलो संख्यामा कुखुरा नष्ट गरिएको छ। चाँगुनारायण र सूर्यविनायक नगरपालिकाभित्र रहेका प्रभावित फार्महरूमा रोग फैलिएको पुष्टि भएसँगै नियन्त्रणका लागि कुखुरा नष्ट गर्ने कार्य गरिएको हो।

पशु सेवा कार्यालय भक्तपुरका पशु चिकित्सक डा. अमिक श्रेष्ठका अनुसार चाँगुनारायण नगरपालिका–२, ८ र ९ मा रहेका फार्महरूबाट हालसम्म ३८ हजार ७९५ वटा कुखुरा नष्ट गरिएको छ।

त्यस्तै, सूर्यविनायक नगरपालिका–१, ४ र ८ का प्रभावित फार्महरूमा पनि बर्डफ्लू संक्रमण देखिएपछि ९ हजार ३७८ वटा कुखुरा नष्ट गरिएको उनले बताए।

डा. श्रेष्ठका अनुसार जिल्लाभर बर्डफ्लू नियन्त्रणका लागि कुल ४८ हजार १७३ वटा कुखुरा नष्ट गरिसकिएको छ। संक्रमण फैलिएको पुष्टि भएका फार्महरूमा रोग थप फैलिन नदिन आवश्यक नियन्त्रणात्मक कदमहरू अपनाइएको कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया