धनगढी । कैलालीमा नेपाली सेनाको फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा एक सैनिकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
मोहन्याल गाउँपालिका–७ स्थित जालपा सामुदायिक वन क्षेत्रमा सुदूरपश्चिम पृतना तालिम शिक्षालयले सञ्चालन गरिरहेको अभ्यासका क्रममा ग्रिनेड विस्फोट भएको थियो। घटनामा गम्भीर घाइते भएका हिमाल विक्रम विष्टको उपचारका क्रममा लम्कीस्थित लालरत्न अस्पतालमा निधन भएको कैलाली प्रहरीका प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।
उक्त विस्फोटमा सहसेनानी हिमराज जोशी पनि घाइते भएका छन्। उनको दाहिने हातको हत्केलासहित शरीरका विभिन्न भागमा छर्रा लागेको भए पनि स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
घाइते जोशीलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ।
प्रहरीका अनुसार बिहीबार बिहान गोराङ्गे ब्यारेकबाट फायरिङ अभ्यासका लागि खटिएको टोली ग्रिनेड विस्फोटको घटनामा परेको थियो। घटनापछि सुरक्षा निकायले आवश्यक अनुसन्धानसमेत अघि बढाएको छ।
तपाईको प्रतिक्रिया