शुक्रबार १२ असार २०८३
बिश्वो

भेनेजुएलामा विनाशकारी भूकम्प : मृतक १६४ पुग्यो, सयौं घाइते

बिहीबार असार ११, २०८३/ Thursday 06-25-26

काठमाडौं । दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा बुधबार साँझ गएको शक्तिशाली भूकम्पपछि मृत्यु हुनेको संख्या १ सय ६४ पुगेको छ भने कम्तीमा ९ सय ७१ जना घाइते भएका छन्।

भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले भूकम्पबाट ठूलो जनधनको क्षति भएको पुष्टि गर्दै अद्यावधिक विवरण सार्वजनिक गरेकी हुन्।

७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्पले भेनेजुएलाका विभिन्न क्षेत्र तहसनहस बनाएका छन्। यी भूकम्पहरू पछिल्लो एक शताब्दीभन्दा बढी अवधिमा देशले भोगेको सबैभन्दा विनाशकारी प्राकृतिक विपत्ति मानिएको छ। भूकम्पको धक्का छिमेकी मुलुकहरूमा समेत महसुस गरिएको थियो।

भूकम्पका कारण दर्जनौं भवन तथा संरचनाहरू भत्किएका छन् भने कैयौं मानिस अझै भग्नावशेषमा फसेको आशंका गरिएको छ। सबैभन्दा बढी प्रभावित ला गुआइरा राज्यमा उद्धारकर्मीहरूले भग्नावशेषबाट तीन बालबालिकालाई सकुशल उद्धार गरेका छन्।

कार्यवाहक राष्ट्रपति रोड्रिगेजले ला गुआइरालाई ‘संकटग्रस्त क्षेत्र’ घोषणा गर्दै प्रभावित क्षेत्रमा युद्धस्तरमा खोज तथा उद्धार अभियान जारी रहेको बताएकी छन्।

 

तपाईको प्रतिक्रिया