बिहीबार ३१ बैशाख २०८३
राजनीति

प्रतिनिधि सभा बैठक दोस्रो पटक स्थगित

बुधबार बैशाख ३०, २०८३/ Wednesday 05-13-26

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहको अनुपस्थितिलाई लिएर जारी विवादका कारण प्रतिनिधि सभाको बैठक बुधबार दोस्रो पटक स्थगित भएको छ ।

पहिलो बैठकमै विपक्षी दलहरूले प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन माग गर्दै अवरोध गरेका थिए । उनीहरूले सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्री स्वयंले प्रस्तुत गर्नुपर्ने अडान राखेका थिए । त्यसपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो ।

पुनः सुरु भएको दोस्रो बैठकमा पनि प्रतिपक्षी दलहरूले आफ्नो माग दोहोर्याएपछि सदनको कार्यवाही अघि बढ्न सकेन ।

सभामुख डिपी अर्यालले सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्रीले प्रस्तुत गरिसकेको उल्लेख गर्दै बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरेका थिए । तर विपक्षी सांसदहरूले प्रधानमन्त्री देशभित्रै रहेकाले उनलाई सदनमा उपस्थित हुन रुलिङ गर्नुपर्ने माग राखे ।

सभामुखले यस विषयमा छलफल गरेर सदनलाई जानकारी गराउने बताएका थिए । तर विपक्षी दल त्यसमा सहमत नभएपछि बैठक पुनः १५ मिनेटका लागि स्थगित गरिएको हो ।

तपाईको प्रतिक्रिया