प्रधानमन्त्रीको जवाफ पर्खँदै संसद्, प्रतिनिधिसभा बैठक आज पुनः बस्दै
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बुधबार तीन पटकसम्म स्थगित भएको बैठकमा आज सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफललाई निरन्तरता दिने कार्यसूची तय गरिएको छ।
संसद् सचिवालयका अनुसार छलफल सम्पन्न भएपछि प्रधानमन्त्री वालेन्द्र शाहले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ। त्यसपछि नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिने सम्भावना छ।
प्रधानमन्त्री शाह संसद्प्रति जिम्मेवार नदेखिएको भन्दै विपक्षी दलहरूले निरन्तर विरोध जनाउँदै आएका छन्। नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने दिन नै प्रधानमन्त्री बैठकमा अनुपस्थित भएपछि बुधबार प्रतिनिधिसभा बैठक अवरुद्ध भएको थियो।
प्रधानमन्त्री शाह राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा बीचमै बाहिरिएको विषयलाई लिएर पनि उनको व्यापक आलोचना भइरहेको छ।
बुधबार नीति तथा कार्यक्रम पारित गर्ने तयारी भए पनि विपक्षी दलको अवरोधका कारण कार्यसूची प्रभावित बन्यो। शून्य समय सञ्चालन भएलगत्तै सभामुख डीपी अर्यालले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई नीति तथा कार्यक्रममाथिको छलफल अघि बढाउन समय दिएका थिए। त्यसलगत्तै विपक्षी सांसदहरू उठेर नाराबाजी गरेपछि बैठक पुनः स्थगित गरिएको थियो।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित विपक्षी दलहरूले प्रधानमन्त्रीलाई तत्काल संसद्मा उपस्थित गराउन माग गर्दै आएका छन्। केही सांसदहरूले प्रधानमन्त्रीको राजीनामासमेत माग गरेका छन्।
तपाईको प्रतिक्रिया