मंगलबार १६ असार २०८३
अर्थ

पुँजी बजार सुधारका लागि अध्यक्ष भट्टलाई अर्थमन्त्रीको वाग्लेको निर्देशन

सोमबार असार १५, २०८३/ Monday 06-29-26

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष गोपालप्रसाद भट्टलाई सोमबार पद तथा गोपनीयताको शपथ गराएका छन्। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा शपथ गराउँदै मन्त्री वाग्लेले भट्टलाई पुँजी बजारको विश्वसनीयता अभिवृद्धि गर्दै लगानीकर्ताको हित संरक्षणलाई पहिलो प्राथमिकतामा राख्न निर्देशन दिए।

मन्त्रिपरिषद्को असार ५ गतेको निर्णयअनुसार भट्ट बोर्डको अध्यक्षमा नियुक्त भएका हुन्। शपथ समारोहपछि अर्थमन्त्री वाग्लेले कुनै पनि प्रकारको लोभ, दबाब वा प्रभावमा नपरी निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न आग्रह गरे।

उनले पुँजी बजारमा लगानीकर्ताको विश्वास कायम राख्दै लगानीको सुरक्षा सुनिश्चित गर्नुपर्नेमा जोड दिए। साथै, पुँजी परिचालनमार्फत आर्थिक गतिविधि विस्तार गरी देशको आर्थिक वृद्धिमा टेवा पुग्ने वातावरण सिर्जना गर्न पनि अध्यक्ष भट्टले सक्रिय भूमिका खेल्नुपर्ने बताए।

अर्थमन्त्री वाग्लेले पुँजी बजार सुधारका लागि दैनिक, साप्ताहिक, मासिक, छ महिनाको तथा वार्षिक कार्ययोजना तयार गरी मन्त्रालयमा पेश गर्न निर्देशन दिएका छन्। बजारमा फैलिने अनावश्यक हल्ला र भ्रमका कारण साना लगानीकर्ता प्रभावित हुने अवस्था अन्त्य गर्न पनि उनले बोर्डलाई प्रभावकारी कदम चाल्न आग्रह गरे।

कार्यक्रममा नवनियुक्त अध्यक्ष भट्टले सरकारको नीति तथा अर्थ मन्त्रालयको मार्गदर्शनअनुसार पुँजी बजारको विकास र लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले आफ्नो अनुभव, ज्ञान र दक्षतालाई बजारको सुदृढीकरण तथा देशको आर्थिक विकासमा उपयोग गर्ने विश्वास पनि व्यक्त गरे।

तपाईको प्रतिक्रिया