‘होल्डिङ सेन्टर’का सुकुमबासीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण
काठमाडौं । राष्ट्रिय सभाको सोमबार बसेको बैठकको शून्य समयमा सांसदहरूले सुकुमवासीको समस्या, कृषि, शिक्षा, सीमा नाका, खानेपानी तथा सुपारी निर्यातलगायत विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
सांसद चन्द्रबहादुर केसीले ‘होल्डिङ सेन्टर’मा राखिएका सुकुमवासीको माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरे। सांसद जगत तिमिल्सिना र रोशनी मेचेले १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई कुनै पनि राजनीतिक दलको सदस्यता दिन नपाइने संवैधानिक तथा कानुनी व्यवस्था कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए।
राष्ट्रिय धान दिवसको अवसरमा सांसद मीना सिंह रखालले किसानलाई सिँचाइ, मल र गुणस्तरीय बीउको अभाव हुन नदिन आवश्यक व्यवस्था मिलाउन सरकारलाई आग्रह गरिन्। सांसद रञ्जित कर्णले सप्तरीको राजविराजमा लालपुर्जा माग गर्दै आन्दोलनरत किसानका माग सम्बोधन गर्न सरकारसँग अनुरोध गरे।
सांसद रेखाकुमारी झाले नेपाल खानेपानी संस्थान राजविराजमा राज्यकोषबाट सञ्चालित सवारीसाधनमा नियमविपरीत रातो नम्बर प्लेट प्रयोग गरिएको भन्दै छानबिन र कारबाहीको माग गरिन्।
त्यस्तै, सांसद वासुदेव घिमिरेले कक्षा १२ को हालै सम्पन्न परीक्षामा देखिएका त्रुटिप्रति असन्तुष्टि जनाउँदै सुधारको आवश्यकता औँल्याए। सांसद सम्झना देवकोटाले गोरखाको हिमाली क्षेत्रमा रहेका दुवै सीमा नाका बन्द हुँदा स्थानीय जनजीवन प्रभावित भएको उल्लेख गर्दै कम्तीमा पर्यटकीय पदमार्ग सञ्चालनका लागि भए पनि नाका खोल्न सरकारसँग आग्रह गरिन्।
यस्तै, सांसद सोमनाथ पोर्तेलले सुपारी निर्यातमा अवरोध सिर्जना भएको भन्दै ‘डीएनए’ परीक्षण गर्ने निर्णय फिर्ता लिन र किसानको हितअनुसार नीति अपनाउन सरकारसँग माग गरे।
तपाईको प्रतिक्रिया