काठमाडौं । रामचन्द्र पौडेल समक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको छ। शुक्रबार शीतल निवासमा आयोजित कार्यक्रममा महालेखापरीक्षक तोयम रायाले प्रतिवेदन बुझाएका हुन्।
प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति पौडेलले सरकारी खर्चमा वर्षेनी बढ्दै गएको बेरुजुले सार्वजनिक निकायको पारदर्शिता, जवाफदेहिता र आर्थिक अनुशासन कमजोर बन्दै गएको संकेत गरेको बताए। उनले बेरुजु फर्छ्यौट गरी वित्तीय अनुशासन कायम गर्न सरकारी निकायका पदाधिकारीहरू अझ जिम्मेवार बन्नुपर्ने आवश्यकता औंल्याए।
राष्ट्रपति पौडेलले अनियमित सरकारी खर्च नियन्त्रण गरी आर्थिक अनुशासन सुदृढ गर्न सके मुलुकमा सुशासन, दिगो विकास, शान्ति र समृद्धिको आधार बलियो हुने विश्वास व्यक्त गरे। साथै, प्रतिवेदनमा समेटिएका विषयले सम्बन्धित निकाय र सरोकारवालालाई थप उत्तरदायी बन्न प्रेरित गर्ने उनको भनाइ थियो।
उनले महालेखापरीक्षकको कार्यालयले आर्थिक अनुशासन कायम गराउने कार्यमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै आगामी दिनमा संस्थागत क्षमता, पेशागत दक्षता तथा आन्तरिक सुशासन सुदृढ गर्न अझ सक्रिय हुनुपर्ने आवश्यकता पनि औंल्याए।
तपाईको प्रतिक्रिया