दश महिनामा ६० प्रतिशत बजेट खर्च, विकास खर्च २८ प्रतिशत मात्र
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को वैशाख मसान्तसम्म सरकारले कुल विनियोजित बजेटको झन्डै ६० प्रतिशत खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालय का अनुसार पछिल्ला १० महिनामा सरकारबाट रु ११ खर्ब ७३ अर्ब ५२ करोडभन्दा बढी खर्च भएको हो।
सरकारले चालु आवका लागि रु १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको थियो। हालसम्म भएको खर्च कुल बजेटको ५९ दशमलव ७५ प्रतिशत बराबर हो।
कार्यालयका अनुसार चालुतर्फ विनियोजित रु ११ खर्ब ८० अर्ब ९८ करोडमध्ये वैशाख मसान्तसम्म रु आठ खर्ब १४ अर्ब ६५ करोडभन्दा बढी खर्च भएको छ, जुन कुल चालु बजेटको ६८ दशमलव ९८ प्रतिशत हो।
त्यस्तै, पुँजीगततर्फ रु चार खर्ब सात अर्ब ८८ करोड ८० लाख विनियोजन गरिएकामा हालसम्म रु एक खर्ब १३ अर्ब ८४ करोड ९२ लाख मात्रै खर्च भएको छ। यो कुल पुँजीगत बजेटको २७ दशमलव ९१ प्रतिशत हो।
वित्तीय व्यवस्थापनतर्फ भने खर्चको अवस्था तुलनात्मक रूपमा उच्च देखिएको छ। यस शीर्षकमा विनियोजित रु तीन खर्ब ७५ अर्ब २४ करोड २० लाखमध्ये रु दुई खर्ब ४५ अर्ब एक करोड ५४ लाख खर्च भएको छ, जुन ६५ दशमलव ३० प्रतिशत हो।
यता, सरकारको आम्दानी पनि लक्ष्यअनुसार हुन सकेको छैन। चालु आवका लागि रु १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख आम्दानी गर्ने लक्ष्य राखिएकोमा वैशाख मसान्तसम्म रु १० खर्ब १२ अर्ब पाँच करोड २४ लाख मात्रै संकलन भएको छ, जुन वार्षिक लक्ष्यको करिब ६६ प्रतिशत हो।
राजस्व संकलनतर्फ सरकारले रु १४ खर्ब ८० अर्ब उठाउने लक्ष्य राखेको थियो। तर हालसम्म रु नौ खर्ब ८८ अर्ब ५५ करोड मात्रै उठेको छ, जुन लक्ष्यको ६६ दशमलव ६९ प्रतिशत हो।
यसैगरी, सरकारले चालु आवमा रु ५३ अर्ब ४४ करोड ६९ लाख वैदेशिक अनुदान प्राप्त गर्ने लक्ष्य राखेकोमा हालसम्म रु १७ अर्ब ७८ करोड ७६ लाख मात्रै अनुदान प्राप्त गरेको तथ्यांकले देखाएको छ। यो लक्ष्यको ३३ दशमलव २८ प्रतिशत हो।
तपाईको प्रतिक्रिया