आइतबार ३ जेठ २०८३
राजनीति

प्रधानमन्त्री कार्यालयको नाम बेचेर दबाब सिर्जना गर्नेलाई कानुनी कारबाही

शनिबार जेठ २, २०८३/ Saturday 05-16-26

काठमाडौं ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ले आफ्नो नाम, प्रधानमन्त्रीको नाम तथा कार्यालयको लोगो दुरुपयोग गरी धम्की, दबाब र अनुचित प्रभाव पार्ने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

शनिबार जारी विज्ञप्तिमा सामाजिक सञ्जाल तथा अन्य माध्यममार्फत प्रधानमन्त्री वा प्रधानमन्त्री कार्यालयको नाम प्रयोग गरेर व्यक्तिलाई भ्रममा पार्ने, धम्की दिने तथा प्रभाव पार्ने प्रयास भइरहेको उल्लेख गरिएको छ। कार्यालयले यस्ता गतिविधि तत्काल बन्द गर्न सम्बन्धित सबैलाई चेतावनी दिएको छ।

विज्ञप्तिमा कानुन र स्थापित प्रशासनिक प्रक्रियाअनुसार जिम्मेवारी निर्वाह गरिरहेका राष्ट्रसेवक कर्मचारीलाई डर, त्रास र अपमान सिर्जना गर्ने तथा गलत सूचना फैलाउने कार्य निन्दनीय भएको बताइएको छ।

प्रधानमन्त्री कार्यालयले यस्ता गैरकानुनी गतिविधिमा संलग्न जो–कोहीलाई प्रचलित कानुनअनुसार कडा कारबाही गरिने स्पष्ट गरेको छ।

तपाईको प्रतिक्रिया