आइतबार ३ जेठ २०८३
खेलकुद

अमेरिकामाथि नेपालको शानदार ९ विकेटको जित

कुशलको ऐतिहासिक शतक
शनिबार जेठ २, २०८३/ Saturday 05-16-26

काठमाडौं । ओपनर ब्याटर कुशल भुर्तेलको अविस्मरणीय शतकको मद्दतमा नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकामाथि ९ विकेटको शानदार जित हात पारेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिकाले दिएको १९६ रनको लक्ष्य नेपालले केवल ३६.४ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्दै घरेलु समर्थकमाझ उत्साहको लहर छाएको हो।

नेपालका लागि कुशल भुर्तेलले उत्कृष्ट ब्याटिङ गर्दै ११९ रनको अविजित शतकीय इनिङ्स खेले। उनले मैदानभर आकर्षक चौका–छक्का प्रहार गर्दै अमेरिकी बलरहरूलाई दबाबमा राखे। अर्का ओपनर आसिफ शेखले संयमित ५८ रन जोडे। एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका ईशान पाण्डेले अविजित २० रन बनाउँदै टोलीको जितलाई औपचारिकता दिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकालाई नेपालले १९५ रनमै समेटेको थियो। अमेरिकाका समित पटेलले ८३ तथा शेहान जयसूर्यले ५० रन बनाए पनि अन्य ब्याटरहरू टिक्न सकेनन्।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले घातक बलिङ गर्दै ४ विकेट लिए। उनले मध्यक्रमलाई धराशायी बनाउँदै अमेरिकालाई ठूलो स्कोर बनाउनबाट रोके। अन्य बलरहरूले पनि किफायती प्रदर्शन गर्दै उत्कृष्ट साथ दिए।

यो जितसँगै नेपालले लिग–२ मा महत्वपूर्ण दुई अंक जोडेको छ। घरेलु मैदानमा प्राप्त यो जितले नेपालको आत्मविश्वास थप उकासिएको छ।

लिग–२ को अंकतालिकामा स्कटल्यान्ड ३० खेलबाट ३८ अंकसहित शीर्ष स्थानमा छ भने अमेरिका २६ खेलबाट ३६ अंकसहित दोस्रो स्थानमा छ। नेपाल २६ खेलमा २० अंकसहित सातौं स्थानमा रहेको छ।

नेपालले अब आफ्नो अर्को खेलमा जेठ ४ गते स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ भने जेठ ८ गते पुनः अमेरिकासँग भिड्नेछ। कुशल भुर्तेलको उत्कृष्ट लय र टोलीको सन्तुलित प्रदर्शनले आगामी खेलहरूका लागि नेपाली समर्थकमा थप आशा जगाएको छ।

 

तपाईको प्रतिक्रिया