काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आगामी मे १९ र २० गते चीनको औपचारिक भ्रमणमा जाने भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण सम्पन्न भएको केही दिनमै क्रेमलिनले पुटिनको दुईदिने भ्रमण तालिका सार्वजनिक गरेको हो ।
भ्रमणका क्रममा पुटिनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्नेछन् । भेटमा रुस–चीन रणनीतिक साझेदारी, आर्थिक सहकार्य तथा अन्तर्राष्ट्रिय मुद्दामा आपसी समन्वयलाई थप सुदृढ बनाउने विषयमा छलफल हुने जनाइएको छ ।
दुवै नेताबीच युक्रेन युद्ध, विश्व व्यापार र क्षेत्रीय सुरक्षासम्बन्धी विषयमा पनि विचार आदानप्रदान हुनेछ । वार्तापछि संयुक्त घोषणापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय गरिएको छ ।
यस भ्रमणले युक्रेन–रुस युद्धका साथै बढ्दो भू–राजनीतिक तनाव कम गर्न सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको छ । चीनले यसअघि पनि युद्ध अन्त्यका लागि संवाद र कूटनीतिक पहलको आवश्यकता औंल्याउँदै आएको छ ।
तपाईको प्रतिक्रिया