रास्वपाको वडा अधिवेशन आज देशभर, महाधिवेशन असार ७ देखि चितवनमा हुने
काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज देशभर वडा अधिवेशन सम्पन्न गर्ने भएको छ। गत वैशाख २० गतेअघि गठन गरिएका करिब १,५०० वडाका तदर्थ समितिहरूको अधिवेशन आज एकैसाथ सञ्चालन गर्न लागिएको हो।
पार्टीको संगठन विभागका सचिव शंकर श्रेष्ठका अनुसार देशभर करिब ३,००० वडामा तदर्थ समिति गठन भइसकेका छन्। तीमध्ये झण्डै ५० प्रतिशत वडामा यसअघि नै चुनावअघि र पछि गरी अधिवेशन सम्पन्न भइसकेको छ भने बाँकी वडामा आज अधिवेशन गरिँदैछ।
रास्वपाले वडा अधिवेशन दुई चरणमा सम्पन्न गर्ने निर्णय गरेको छ। जेठ ३ गतेअघि गठन भएका तदर्थ समितिहरूका लागि जेठ १६ गते अर्को चरणको वडा अधिवेशन तय गरिएको छ। त्यसैगरी पालिका अधिवेशन पनि दुई चरणमा हुनेछन्, जेठ ९ र १७ गतेका लागि मिति तोकिएको छ।
पार्टीले एउटा तहको कम्तीमा ३० प्रतिशत वडाहरू र जिल्लाको हकमा ३० प्रतिशत पालिकाहरूको अधिवेशन सम्पन्न भएपछि पनि माथिल्लो तहको अधिवेशन नरोक्ने निर्णय गरेको जनाएको छ।
जिल्ला अधिवेशन जेठ २३ र २४ गते हुने तय गरिएको छ भने प्रदेश अधिवेशन जेठ २६ गतेदेखि सुरु भई असार १ गतेसम्म सम्पन्न गरिनेछ।
त्यसैगरी, रास्वपाको प्रथम केन्द्रीय महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा आयोजना हुने भएको छ। पार्टी गठन भएको चार वर्ष पूरा भएकै अवसरमा पहिलो महाधिवेशन गर्ने तयारी गरिएको हो।
तपाईको प्रतिक्रिया