सोमबार ४ जेठ २०८३
समाज

प्रधानमन्त्री शाहद्वारा कीर्तिमानी आरोही शेर्पाद्वयप्रति सम्मान

आइतबार जेठ ३, २०८३/ Sunday 05-17-26

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सगरमाथामा नयाँ इतिहास रच्ने आरोही कामी रिता शेर्पा र लाक्पा शेर्पाप्रति बधाई तथा सम्मान व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री शाहले कामी रिता शेर्पाले ३२औँ पटक तथा लाक्पा शेर्पाले ११औँ पटक सगरमाथा आरोहण गरेर नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा थप गौरवान्वित बनाएको बताएका हुन् । उनले यस उपलब्धिले नेपालको पर्वतीय पर्यटनलाई अझ विश्वसनीय, आकर्षक र सम्मानित बनाउने विश्वास व्यक्त गरेका छन् ।

कामी रिता शेर्पाले आज बिहान १० बजेर १२ मिनेटमा सगरमाथाको सफल आरोहण गर्दै आफ्नै विश्व कीर्तिमानलाई फेरि अद्यावधिक गरेका हुन् । प्रधानमन्त्री शाहले सगरमाथा केवल भौगोलिक उचाइ नभई नेपालको साहस, धैर्य, आत्मसम्मान र हिमाली सभ्यताको प्रतीक भएको उल्लेख गरेका छन् ।

त्यस्तै, ‘माउन्टेन क्विन’ भनेर परिचित लाक्पा शेर्पाले बिहान ९ बजेर ३० मिनेटमा ११औँ पटक सगरमाथा आरोहण गर्दै महिला आरोहीमध्ये सबैभन्दा धेरै पटक सगरमाथा चढ्ने विश्व कीर्तिमान कायम गरेकी छन् ।

प्रधानमन्त्री शाहले निरन्तरको साहस, अनुशासन र समर्पणले मात्रै यस्ता ऐतिहासिक सफलता सम्भव हुने बताएका छन् । उनले यो खुसीको अवसरमा दुवै आरोहीलाई हार्दिक शुभकामना व्यक्त गर्दै सम्पूर्ण नेपालीका लागि यो गौरवको विषय भएको उल्लेख गरेका छन् ।

प्रधानमन्त्रीका अनुसार नेपालको पर्वतारोहण इतिहासमा शेर्पा समुदायको योगदान अतुलनीय छ । हिमाललाई श्रद्धापूर्वक सम्मान गर्दै विश्वभरका आरोहीलाई सुरक्षित रूपमा शिखरसम्म पुर्‍याउने शेर्पाहरू हिमालयका वास्तविक नायक भएको उनले बताएका छन् ।

उनले कामी रिता शेर्पा, लाक्पा शेर्पा तथा सम्पूर्ण शेर्पा समुदाय र पर्वतारोहण क्षेत्रमा समर्पित सबैप्रति उच्च सम्मान प्रकट गरेका छन् ।

तपाईको प्रतिक्रिया