विश्वकप लिग-२ : आज घरेलु मैदानमा स्कटल्यान्डसँग भिड्दै नेपाल
काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्यान्डबीच महत्त्वपूर्ण प्रतिस्पर्धा हुँदैछ । अघिल्लो भेटमा दुई रनको झिनो हार व्यहोरेको नेपाल घरेलु मैदानमा त्यसको बदला लिने लक्ष्यसहित मैदान उत्रिँदैछ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल बिहान ९ः३० बजे सुरु हुनेछ । नेपालका लागि यो खेल केवल जितको खोजी मात्र नभई ओडिआई मान्यता जोगाउने अभियानसँग पनि जोडिएको छ ।
यसअघि जारी त्रिकोणात्मक शृङ्खलामा नेपालले एक खेलमा जित र अर्कोमा हार बेहोरेको छ । स्कटल्यान्डसँग पहिलो खेलमा पराजित भए पनि अमेरिकामाथि ९ विकेटको प्रभावशाली जित निकाल्दै नेपालले आत्मविश्वास फर्काएको थियो ।
लिग–२ को अंकतालिकामा स्कटल्यान्ड ३० खेलबाट ३८ अंकसहित शीर्ष स्थानमा छ भने अमेरिका २६ खेलमा ३६ अंकसहित दोस्रो स्थानमा रहेको छ । नेपाल भने २६ खेलबाट २० अंक जोड्दै सातौँ स्थानमा छ ।
शीर्ष चार टोली मात्र विश्वकप छनोटमा पुग्ने भएकाले नेपालका लागि बाँकी हरेक खेल निर्णायक बनेका छन् ।
तपाईको प्रतिक्रिया