सोमबार ४ जेठ २०८३
राजनीति

नेपाली कांग्रेस राष्ट्रिय शक्ति हो : गगन थापा

आइतबार जेठ ३, २०८३/ Sunday 05-17-26

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले चुनावी नतिजाले मात्र कुनै दलको राष्ट्रिय शक्ति निर्धारण नहुने बताएका छन् । उनले राष्ट्रिय शक्तिको आधार इतिहास, विचार, जनविश्वास र राजनीतिक भूमिका हुने उल्लेख गरे ।

प्रजातान्त्रिक विचार समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले नेपाली कांग्रेसलाई केवल निर्वाचन परिणामका आधारमा मूल्यांकन गर्न नमिल्ने बताए । उनका अनुसार कानुनी रूपमा राष्ट्रिय पार्टीको मापन चुनावी परिणामबाट भए पनि राष्ट्रिय शक्ति भने फरक विषय हो ।

उनले कांग्रेसले निर्वाचन जित्दा, हार्दा वा पञ्चायतकालमा चुनावमा सहभागी नभएका बेला पनि राष्ट्रिय शक्तिका रूपमा आफ्नो अस्तित्व कायम राखेको बताए । राष्ट्रिय शक्ति भएकै कारण कांग्रेसले क्षणिक फाइदा वा चर्चाको पछि लागेर निर्णय नगर्ने उनको भनाइ थियो ।

थापाले राष्ट्रिय राजनीतिमा उठ्ने विषयमा केवल प्रतिक्रिया जनाउनेभन्दा पनि सही दिशा दिनुपर्ने दायित्व कांग्रेसको रहेको बताए । उनले कांग्रेसलाई मत नदिने नागरिकले समेत देशमा संकट पर्दा कांग्रेस छ भन्ने भरोसा गर्न सक्नुपर्ने धारणा राखे ।

सभापति थापाले निर्वाचनबाट बनेको सरकारसँग अधिकार र शक्ति भए पनि संविधानले त्यसको सीमा निर्धारण गरिदिएको बताए । उनका अनुसार सरकारलाई कानुन बनाउने अधिकार भए पनि त्यो अधिकार संविधान र कानुनी व्यवस्थाभित्र सीमित हुन्छ ।

तपाईको प्रतिक्रिया