मंगलबार ५ जेठ २०८३
बिजनेस

ढल्केश्वर महादेव परिसरमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको वृक्षरोपण अभियान सम्पन्न

सोमबार जेठ ४, २०८३/ Monday 05-18-26

काठमाडौं। हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन अभियानअन्तर्गत ढल्केश्वर महादेव मन्दिर परिसरमा ५०० वटा बिरुवा रोपेको छ।

लुम्बिनी विश्व शान्ति मञ्चसँगको सहकार्यमा सञ्चालन भइरहेको ‘१० लाख वृक्षरोपण तथा संरक्षण अभियान’ लाई समर्थन गर्दै कम्पनीले वृक्षरोपण कार्यक्रम गरेको हो । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले २०० वटा अम्बा तथा १५०/१५० वटा अमला र कागतीका बिरुवा खरिदका लागि आर्थिक सहयोग प्रदान गरेको जनाएको छ ।

विश्व जैविक विविधता सप्ताह–२०२६ को अवसरमा आयोजित कार्यक्रममा कम्पनीकी प्रमुख कार्यकारी अधिकृत अञ्जु श्रेष्ठसहित कर्मचारीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव डा. चिरञ्जिवी प्रसाद पोखरेल, ढल्केश्वर महादेव वैदिक सनातन धर्म संरक्षण संस्थाका अध्यक्ष राजकुमार थापा तथा स्थानीय समुदायको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले वृक्षरोपण केवल औपचारिक कार्यक्रम नभई वातावरणीय सन्तुलन कायम राख्न, स्वच्छ वातावरण निर्माण गर्न तथा स्थानीय क्षेत्रमा हरियाली विस्तार गर्न महत्वपूर्ण हुने बताउनुभयो । उहाँले जैविक विविधता संरक्षणमा समेत यस्ता अभियान प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।

लुम्बिनी विश्व शान्ति मञ्चका संस्थापक एवं अध्यक्ष बासु गौतमले देशभरका स्थानीय तह, सामुदायिक विद्यालय, मन्दिर तथा प्रयोगविहीन खाली जग्गामा स्थानीय समुदायको सहभागितासहित वृक्षरोपण अभियान सञ्चालन भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार अभियानमा विशेषगरी फलफूल तथा धार्मिक–सांस्कृतिक महत्त्व बोकेका रैथाने प्रजातिका बिरुवाको रोपण र संरक्षणमा जोड दिइएको छ ।

 

तपाईको प्रतिक्रिया