काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको आम्दानीमा उल्लेख्य वृद्धि भए पनि गत आर्थिक वर्षमा नाफा घटेको छ। आर्थिक वर्ष २०८२/८३ मा प्राधिकरणको करअघिको नाफा ५ अर्ब ४ करोड रुपैयाँमा सीमित भएको छ।
आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणको करअघिको नाफा ८ अर्ब ९१ करोड रुपैयाँ थियो। यस आधारमा गत आर्थिक वर्षको नाफा अघिल्लो वर्षको तुलनामा ४३ प्रतिशत अर्थात् ३ अर्ब ८७ करोड रुपैयाँले कम हो।
प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार २०८२/८३ मा विद्युत् बिक्री तथा अन्य स्रोतबाट प्राधिकरणले १ खर्ब ६६ अर्ब रुपैयाँ कुल आम्दानी गरेको छ। विद्युत् बिक्रीबाट मात्रै १ खर्ब ४८ अर्ब ६२ करोड रुपैयाँ आम्दानी भएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १८.२० प्रतिशत बढी हो।
श्रेष्ठका अनुसार समग्र कार्यसम्पादनमा सुधार, विद्युत् चुहावट नियन्त्रण र विद्युत् निर्यातमा भएको वृद्धिले आम्दानी बढाउन योगदान गरेको छ। प्राधिकरणको कुल सञ्चालन नाफासमेत अघिल्लो वर्षको तुलनामा ७.२८ प्रतिशतले बढेको छ।
तर, विदेशी विनिमय दरमा भएको वृद्धिले प्राधिकरणको वित्तीय दायित्वमा ठूलो दबाब परेको छ। विदेशी विनिमयसम्बन्धी दायित्व २७२.८६ प्रतिशतले बढेर ११ अर्ब ५१ करोड रुपैयाँ पुगेको श्रेष्ठले बताए। ह्रास कट्टी तथा ब्याज खर्चमा भएको वृद्धि र इम्पेयरमेन्ट नोक्सानीका लागि गरिएको व्यवस्थाका कारण खुद नाफा घटेको उनको भनाइ छ।
यसैबीच, आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म नेपालको कुल जडित विद्युत् उत्पादन क्षमता ४ हजार १२० मेगावाट पुगेको छ। एक वर्षमै राष्ट्रिय प्रसारण प्रणालीमा थप ५२९ मेगावाट विद्युत् जोडिएको छ।
प्राधिकरणका ग्राहक संख्या पनि बढेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा ३.८५ प्रतिशतले वृद्धि भएर ग्राहक संख्या ५९ लाख २७ हजार पुगेको छ। तीमध्ये घरेलु ग्राहक ९०.६४ प्रतिशत, औद्योगिक ग्राहक १.२० प्रतिशत र अन्य ग्राहक ८.१६ प्रतिशत छन्।
गत आर्थिक वर्षमा आन्तरिक विद्युत् खपत ९.२७ प्रतिशतले बढेको छ। त्यस्तै, विद्युत् चुहावट १२.२६ प्रतिशतबाट घटेर १२.१६ प्रतिशतमा झरेको प्राधिकरणले जनाएको छ।
विद्युत् व्यापारतर्फ नेपालले गत आर्थिक वर्षमा १० अर्ब ५६ करोड रुपैयाँ बराबरको विद्युत् आयात गरेको थियो। सोही अवधिमा २९ अर्ब ३१ करोड रुपैयाँको विद्युत् निर्यातबाट आम्दानी भएको छ। निर्यातबाट भएको आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा ६८ प्रतिशत बढी हो।
तपाईको प्रतिक्रिया