मंगलबार २ भदौ २०८३
राजनीति

प्रतिनिधिसभा बैठक आज, चार मन्त्रीले सांसदका मौखिक प्रश्नको जवाफ दिने

मंगलबार भदौ २, २०८३/ Tuesday 08-18-26

काठमाडौं ।सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा चार वटा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ।

कार्यसूचीअनुसार परराष्ट्रमन्त्री, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र कृषि, वन तथा वातावरणमन्त्रीले सांसदका मौखिक प्रश्नको जवाफ दिनेछन्।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहकोतर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले थारू आयोगको सातौँ वार्षिक प्रतिवेदन (२०८१ साउन–२०८२ असार) पेस गर्नेछिन्।

यस्तै, परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

कानुनमन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नेछिन्। साथै, संयुक्त राष्ट्रसङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता पनि पेस गर्ने कार्यसूची रहेको छ।

यसैबीच, आजै पाँच वटा संसदीय समितिको बैठक बस्दैछ। कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्नेछ।

 

तपाईको प्रतिक्रिया