प्रधानमन्त्रीसँग भदौ १० गते संसद्मा प्रत्यक्ष प्रश्नोत्तर
काठमाडौं । प्रतिनिधिसभामा आगामी भदौ १० गते प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ। सभामुख अर्यालले कार्यक्रमका लागि समय निर्धारण गरेका हुन्।
प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी व्यवस्था गरिएको छ। उक्त व्यवस्थाअनुसार प्रधानमन्त्री वा उनको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्वपूर्ण विषयमा सांसदले प्रश्न गर्न सक्ने गरी प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिन बैठकको पहिलो एक घण्टा यसका लागि छुट्याउनुपर्ने हुन्छ।
नियमावलीमा सभामुखले समय निर्धारण गर्ने व्यवस्था बाध्यकारी रूपमा राखिएको छ। तोकिएको दिन कुनै कारणले बैठक बस्न नसकेमा त्यसपछि लगत्तै बस्ने बैठकको पहिलो एक घण्टामा प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्था छ।
प्रतिनिधिसभामा यस्तो व्यवस्था रहे पनि कार्यान्वयन हुन नसकेको भन्दै प्रश्न उठिरहेका बेला सभामुख अर्यालले भदौ १० गतेका लागि कार्यक्रमको मिति तोकेका हुन्।
नियमावलीको दफा ५७ ले प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सरकारी तथा अन्य सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रसारण गर्न सकिने व्यवस्था गरेको छ। यस्तै, दफा ५८ अनुसार प्रधानमन्त्रीलाई प्रश्न गर्न चाहने सांसदले बैठक सुरु हुनुभन्दा कम्तीमा तीन दिनअघि आफ्नो प्रश्नको विषयबारे सभामुखलाई लिखित जानकारी गराउनुपर्नेछ।
दफा ५९ मा प्रश्न स्वीकार्य भए वा नभएको निर्णय गर्ने अधिकार सभामुखलाई दिइएको छ। प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी अन्य कार्यविधि पनि सभामुखले निर्धारण गर्न सक्ने व्यवस्था छ।
यस्तै, दफा ६० अनुसार प्रत्यक्ष प्रश्नोत्तरका क्रममा प्रधानमन्त्रीले दिएको जवाफमाथि सदनमा थप छलफल गर्न नपाइने व्यवस्था गरिएको छ।
तपाईको प्रतिक्रिया